अत्तरिया : कैलालीको अत्तरिया लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको छ । गोदावरी नगरपालिकाले आज (आईतबार) गोदावरी-४ बसन्तपुरका बिभिन्न किराना पसल र अत्तरिया बजारका मिठाई पसलहरुमा अनुगमन गरेको हो ।
नगरउपप्रमुख शारदा रोकायाको संयोजकत्वमा ११ वटा पसलहरुमा गरिएको अनुगमनका क्रममा ठुलो मात्रामा म्यान नाघेका करिब ५० हजार बराबरका खाद्य बस्तुहरु फेला परेका थिए ।
अनुगमनका क्रममा ४६ केजी मसला जन्य पदार्थ, ७६ पिस बस्किुट, २० पाकेट चिजबल, १० पाउरोटी, १३ पिस (१०० एमएल) कपालमा लगाउने तेल, १२ केजी रंगिन पास्ता लगायतका सामाग्रीहरु फेला परेको नगरपालिकाका पशु सेवा शाखाका कर्मचारी टेक शाहुले बताए ।
नगरपालिकाले यस अघि दशैलाई लक्षित गरी बजार अनुगमन थालेको थियो । त्यस्तै अत्तरिया बजारका दुई मिठाई पसलहरुमा गरिएको अनुगमनका क्रममा भान्सामा सरसफाई नभएको पाईएको छ । मिठाईहरुमा रातो रंग प्रयोग गरिएको र मिठाईलाई खुल्ला राख्ने गरिएको अनुगमन टोलीले बताईएको छ ।
लामो समयको अन्तराल पछि अनुगमन भएकाले बढी मात्रामा म्याद नाघेका तथा अखाद्य सामग्रीहरु फेला परेको नगरउपप्रमुख रोकायाले बताईन् । उनले म्याद नाघेका र अखाद्य बस्तु फेला परेका व्यवसायीहरुलाई पहिलो पटक सचेतना गराएको र दोस्रो पटक भेटिएमा कारबाही थालिने बताईन ।
व्यापारीहरुले व्यवसाय दर्ता गरे नगरेको भन्ने विषयमा पनि अनुगमन गरिएको र दर्ता नभएका व्यवसायीहरुलाई दर्ता गरिदिन आग्रह गरेको नगरउपप्रमुख रोकायाले बताईन् । अनुगमनका क्रममा बरामद गरिएका सबै सामग्रीहरु नष्ट गरिएका छन् ।
मिठाई पसलको भान्सामा अनुगन गर्दै अनुगमन टोली