अत्तरिया : कैलालीको अत्तरियामा अश्मीकोे न्यायका लागि स्थानीयहरुले प्रदर्शन गरेका छन् । गोदावरी नगरपालिका – ४ बसन्तपुर घर भएकी १८ बर्षीय अस्मि बोहरा असार ९ गते आफ्नै घरमा मृत फेला परेकी थिईन् ।
अश्मीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै अत्तरियामा स्थानीयले प्रदर्शन गरेका हुन् । उनीहरुले अश्मीको न्यायका लागि नारा लगाउँदै अत्तरिया चोक परिक्रमा गरी केही समय इलाका प्रहरी कार्यालयको गेटमा नारावाजी गरेका थिए ।
नेपालगंजमा रहेको अलाईट टेक्निकल कलेजमा अध्ययनरत अश्मिमाथि जबरजस्ती करणी भएको र, कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण अश्मिले मानसिक तनाबमा आएर आत्महत्या गरेको परिवारजनको दावी छ ।
अश्मिलाई सोही कलेजमा पढ्ने लक्ष्मीको घरमा गएको बेला बलात्कार भएको परिवारको दावी छ । लक्ष्मी फरार रहेकी छिन् । उनको खोजी भईरहेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालका अनुसार प्रहरीले अश्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका – ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ ।
६ महिना देखि अलाईट टेक्निकल कलेजमा अप्थामालोजी (नेत्र विज्ञान) बिषयमा अध्ययनरत अश्मी कलेजकै होस्टिलमा बस्दै आएकी थिइन् ।