अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगर शिक्षकहरु पुनः आन्दोलित भएका छन् । नियुक्ती पत्र पाउनु पर्ने, सेवा सुविधा वृद्धि लगायतका माग राख्दै नगर शिक्षकहरु पुनः आन्दोलित भएका हुन् । पटक–पटक आन्दोलन गर्दै आएका शिक्षकहरुले आश्वासन पाएपनि नगरले आफ्ना माग सुनुवाई गर्न बेवास्ता गरेको भन्दै आन्दोलित भएका छन् ।
गोदावरी नगरपालिकाले २०७८ फागुनमा विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेका १४३ जना शिक्षकहरुलाई नगरशिक्षकमा रुपान्तरण गरेको थियो । सो समयमा प्राविमा २० हजार, निमाविमा २२ हजार र माविमा २५ सेवा सुविधा तोकिएको थियो । तर, नगर शिक्षकमा रुपान्तरण भएको डेढ बर्ष वितिसक्दा पनि नियुक्ती पत्र समेत नपाएको नगर शिक्षक संघका अध्यक्ष तपराज ओझाले बताए ।
उनले सेवा सुविधा पनि समय सादर्भिक नभएको भन्दै २०७९ साउनदेखि आफूहरु संघर्षका कार्यक्रम गरिरहेको बताए । उनले आगामी आर्थिक बर्षको बजेटमा पनि आफूहरुका माग सम्बोधन नगरेकाले आफूहरु बाध्य भएर पुनः बुधबार आन्दोलित भएको बताए । नगरपालिकाले अहिले माग पुरा गर्नुको साटो कुरा समेत सुन्न छाडेको नगर शिक्षकहरुले बताए । आफ्ना मागका बिषयमा नगरप्रमुख संग कुरा गर्न नगरपालिकामा आउदा नगरप्रमुख भागेका अध्यक्ष ओझाले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्री संग तलब वृद्धिका बिषयमा कुरा गर्दा ‘सक्ने भए जागिर गर्नुस् नत्र, छोड्नुस्’ भनेर जवाफ फर्काएको अध्यक्ष ओझाले बताए । उनले नगरले गोदावरीको शिक्षालाई ध्वस्त पार्न खोजेको बताउदै नगरको व्यवहारले नगर शिक्षकहरुको मनोवल समेत खस्किएको बताए ।
विद्यालय व्यवस्थापन समिति मार्फत हुँदा पूर्ण रुपमा सेवा सुविधा पाएको भएपनि नगरशिक्षक बनाइएपछि भने आफूहरु झन समस्यामा परेको नगर शिक्षक सचिव नवराज जोशीले बताए । उनले नेपाल सरकारको सरह नभएपनि केही हद सम्म भएपनि नगर क्षिकको तलब वृद्धिको माग सम्बोधन गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।
नगर शिक्षकलाई कार्यविधि अनुसार नियुक्ति पत्र दिनुपर्ने र हाल नगर शिक्षकहरुको तलब निकै न्यून भएकाले त्यसलाई बढाउनु पर्ने आफूहरुको माग रहेको नगर शिक्षक सचिव जोशीले बताए ।