काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ ।
जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षकोexamexam एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो ।त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो । बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिएपनि बुधबार त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन ।
यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो ।
निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ ।
दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ ।