अत्तरिया : अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका ३ जना खेलाडीहरुलाई एसपीए कलेजले सम्मान गरेको छ ।
नेपाली टोलीमा रहेका सुदूरपश्चिमका ३ जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो।
घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो । कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान समेत हुन् । उनी एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत् छन् ।
यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गर्नु भएका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन । अशोक धामी बझाङका हुन् ।
तीनै जनालाई एसपीएले स्नातकोत्तर सम्म निःशुल्क अध्ययन गराउने घोषणा समेत गरेको छ । यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाइएको छ ।
