धनगढी : अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सम्मान गरेका छन् ।
धनगढी क्रिकेट एकेडेमीमा आयोजिक एक कार्यक्रममा हमालले नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई सोमबार एक कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।
घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो। उक्त उपाधि जित्दा धनगढी क्रिकेट एकेडेमीकै नरेन भट्टले फाइनलमा शतक प्रहार गरेका थिए ।
यस्तै विकेटकिपर ब्याट्सम्यान आशिष पनि धनगढी क्रिकेट एकेडेमीकै उत्पादन हुन् । अशोक बझाङका हुन् । एकेडेमीले सम्मान गर्दै उनीहरुलाई निशुल्क प्रशिक्षण गराउने समेत घोषणा गरेको छ ।
तीनजनै खेलाडीलाई सम्मान गर्दै मेयर हमालले खेलाडीहरुलाई बधाईं दिदैँ ग्रासरुटको विकासमा धनगढी उपमहानगरपालिकाले लगानी गर्ने बताए ।