उद्घाटनको १५ महिनापछि गोदावरी नगरपालिकाको नवनिर्मित भवनमा पुजा गरे नगरप्रमुख भट्टले

भवन निर्माण कार्य भने अझै सम्पन्न भएन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको नवनिर्मित भवनमा आज पुजापाठ गरिएको छ । उद्घाटनको १५ महिनापछि वडा नम्बर २ मा निर्माण भईरहेको भवनमा पुजापाठ गरिएको हो ।

भवन निर्माणको कार्य सम्पन्न भएको भन्दै तत्कालिन नगरप्रमुख हरी सिंह साउँदले १५ महिना अगाडि उद्घाटन गरेको भवनमा नगरप्रमुख बिरेन्द्र भट्टले आज पुजापाठ गरेका छन् । उद्घाटन भएको १५ महिना वितिसक्दा पनि अझै भवन निर्माण भने सम्पन्न भएको छैन् ।

नगरपालिकाको कामकाज भने अत्तरिया-धनगढी ६ लेन सडक वडा नम्बर १ मा रहेका २ वटा निजि भवन भाडामा लिएर सञ्चालन भईरहेको छ । समयमै भवन निर्माण सम्पन्न नहुदा नगरपालिकाले मासिक १ लाख ४१ हजार ४ सय रुपैया भाडाको खर्च ब्यहोर्नु परेको छ ।

२०७६ साल मंसिर २० गते एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत भवनको निर्माण गर्न एम/एस शर्मा एण्ड कम्पनीसंग १० करोड ५५ लाख ५६ हजार ८१५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो उक्त सम्झौता अनुसार २०७८ साउन २० गते भवन निर्माणको काम सक्नुपर्ने थियो ।

भवन निर्माणको काम समयमा नसकिदा पटक-पटक म्याद थपिदै आएको थियो । तर  २०७८ चैतमा तत्कालीन नगरप्रमुख साउँदले आफ्नोे कार्यकालमा नै भवन उद्घाटन गर्ने भन्दै हतार हतारमा निर्माण सम्पन्न नहुदै भवन उद्घाटन गरेका थिए । त्यसपछि निर्माण सम्पन्न नहुदै भवन उद्घाटन गरिएको भन्दै चर्को आलोचना समेत गरिएको थियो । २०८० बैशाखमा तत्कालीन नगरप्रमुख साउँदको कार्यकाल सकिदै थियो।

भवन निर्माण सम्पन्न नहुदै हालका नगरप्रमुख भट्टले पनि नवनिर्मित भवनमा आज (बिहिबार) पुजापाठ गरेका छन् । अबको केही दिन भित्रै भवनमा प्रवेश गरिने भएकाले पुजापाठ गरिएको नगरप्रमुख भट्टले बताए । उनले भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसपश्चात लामो समयसम्म भवन प्रवेश गर्ने साईत नभएकाले पण्डितलाई बोलाएर पुजापाठ गरिएको बताए । नगरप्रमुख भट्टले कागजातमा हस्ताक्षर गर्दै नयाँ भवनबाट कार्यको थालनी समेत गरेका छन् ।

लामो समयसम्म भवन प्रवेश गर्ने साईत नभएकाले आज साईत अनुसार सामान्य पुजा गरिएको वडा नम्बर १ का वडाध्यक्ष तथा नगरप्रवक्ता गोपाल दत्त भट्टले बताए । निर्माण कार्य सम्पन्न नभएको तर प्रसासनिक काम गर्न समस्या समेत भएकाले आज सामान्य एउटा कोठामा पुजा गरेको उनले बताए । बिस्तारै केहि शाखाहरु पनि सारिने नगरप्रवक्ता भट्टले जनाए ।

‘भवन निर्माणको काम अझै चालु रहेको छ’ उनले भने ‘भवनको धेरै काम गर्न बाँकी छ, प्रसासनिक काम गर्न समस्या भएको र केहि शाखाहरु सार्नुपर्ने भएकाले अर्को महिना साउन लाग्ने हुनाले यसै महिना पुजापाठ गरिएको हो ।’ उनले मुल पुजा माघ ४ गते हुने र सोही दिन सम्भवत भवनको उद्घाटन पनि गर्ने र हस्तान्तरण पनि लिने योजना रहेको बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.