अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ मजगाउँमा थारु होमस्टे सञ्चालनमा आएको छ । थारु खानपान, कला-संस्कृति, भेषभूषाको संरक्षण एवं सम्वर्द्धन तथा पर्यटकको न्यानो आतिथ्यताका लागि गाउँमा ‘मजगाउँ थारु होमस्टे’ संचालनमा ल्याइएको हो ।
होमस्टेको आइतबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घ सोडारीले उद्घाटन गरेका छन् । उनले होमस्टे अत्तरिया र धनगढीको बीचमा राम्रो सम्भावना भएको क्षेत्रमा स्थापना भएको बताए । उनले होमस्टेमा थारु कला संस्कृती संगै खानाका परिकारको पनि प्रचारप्रसार गरिनुपर्ने बताए ।
थारु होमस्टे स्थानीय कल्पना चौधरीले संचालनमा ल्याएकी हुन । अहिले तत्काल एउटा घरबाट सुरु गरिएको होमस्टे छिट्टै ५ वटा घरबाट पाहुनाको सत्कार गर्ने तयारी गरिएको उनले बताईन् । होमस्टेमा गाउँघरका परम्परागत संस्कृति, रहनसहन र थारु खानपानका परिकारहरु पाईने उनले बताईन् ।
बजारको कोलाहलपूर्ण वातावरणमा बसिरहेका मानिसहरुले फुर्सदको समयमा परिवार तथा साथीभाइसँग मिलेर थारु होमस्टेमा आनन्द लिन सकिने उनको भनाई छ ।
उद्घाटन कार्यक्रममा पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुन कुमारी चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरी, वडा सदस्य, भलमन्सा, स्थानिय लगायतको सहभागिता रहेको थियो ।