धनगढी : सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपतको घटनामा परेर एक वर्षमा ८५ जनाको मृत्यु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयस्थित प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाखदेखि असार मसान्तसम्म बाढी, पहिरो, चट्याङ लगायत विपत्मा परेर सो सङ्ख्यामा मृत्यु भएको हो।
मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला रहेका छन् । त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएका जनाइएको छ । पहिरोमा परेर २८। चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन् ।
हिमपहिरोमा परेर ९, बाढीमा ८, भूकम्पमा ७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै आगलागीमा ६ जनावर आतङ्कमा छ । सर्पदंशबाट ४ जनाले ज्यान गुमाएका जनाइएको छ। हावाहुरी, भारी वर्षा र अन्य कारणले १/१ जनाले ज्यान गुमाएका छन् ।
पहिरोमा १ र बाढीमा ९ गरी १० जना बेपत्ता, पहिरोमा परी १७, चट्याङ लागेर ५१, हिउँपहिरोका कारण दुई बाढीका कारण १३, भूकम्पका कारण १२ जना घाइते भएका छन् । आगलागीमा ३०, जनावरको आक्रमण ६३, सर्पदंशबाट एक हावाहुरीका कारण ७० र भारी वर्षाका कारण ७२ जना घाइते भएका जनाइएको छ ।
एक वर्षको अवधिमा प्राकृतिक विपत्बाट २८२ घरपरिवार प्रभावित भएका छन् । २३२ घरमा आशिक र २१९ घरमा पूर्ण क्षति भएको जनाइएको छ। प्राकृतिक विपत्का कारण ९५४ पशुचौपायाको ज्यान गएको छ ।
विभिन्न प्राकृतिक विपत्का कारण एक वर्षको अवधिमा १८ करोड १६ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको जनाइएको छ । पीडित परिवारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत पाइसकेको विपत् व्यवस्थापन शाखाका अधिकृत जनक धामीले बताए ।
प्राकृतिक विपत्मा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश विपत् व्यवस्थापन तथा राहत निर्देशिका २०७६ (पहिलो संशोधन) अनुसार राहत उपलब्ध गराउने गरिएको छ । आवास खाद्यान्न नष्ट भएकालाई प्रतिपरिवार २० हजार विस्थापित भई नयाँ ठाउँमा आश्रय स्थल बनाउनुपर्ने व्यवस्थाका लागि प्रतिपरिवार ५० हजार रकम उपलब्ध गराउने व्यवस्था छ ।
यसै गरी प्राकृतिक विपत्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपियाँ राहत उपलब्ध गराउने व्यवस्था छ । एकै परिवारका दुई वा दुईभन्दा बढी व्यक्तिको मृत्यु भएमा थप एक लाख रुपैयाँ राहत उपलब्ध गराउने गरिएको छ ।