अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१२ मा रहेको रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन गरिएको छ ।सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक वनमा भएको वन फडानीबारे छानबिन गर्न समिति गठन गरेको हो ।
मन्त्रालयका अनुसार मन्त्रालयका उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । सामुदायिक वनका उपभोक्ताको लिखित उजुरी आएपछि मन्त्रालय आफैँले छानबिन थालेको हो ।
उपभोक्ताको गुनासोपछि उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र सचिव ढकालको टोलीले यसअघि रातोपानी सामुदायिक वनमा रूख कटान भएको क्षेत्रको निरीक्षणसमेत गरेको थियो । निरीक्षणका क्रममा मन्त्री धामीले छानबिन गरेर वन फँडानीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए ।
सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा वन फँडानी भएको दाबी उपभोक्ताले गर्दै आएका छन् । वनमा सालका २२ वटा रूख कटान भएको पाइएको छ ।
रूख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समूहको कार्यसमितिका दुईजना सदस्य पक्राउ परेका छन् । उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर विकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सब वन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ ।
