कैलालीको गोदावरीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले डेंगु रोगबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको छ । नगरपालिकाले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान चलाएको हो । नगरपालीकाको स्वास्थ्य शाखाले वडा नम्बर ८ मा रहेको स्याउले सहरी स्वास्थ्य केन्द्र मजगाँउबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान आजबाट सुरु गरेको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए ।

उनले पछिल्लो समय डेंगु रोग देशभरमै महामारीकै रुपमा देखिने संकेत देखिएको र गोदावरी नगरपालीकामा पनि ६ जनामा डेंगु रोगको संक्रमण देखिएकाले नगरपालीकाले उक्त अभियानको सुरुवात गरेको बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाउन आवश्यक रहेको उनको भनाई छ । उनले सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुले प्रत्येक शुक्रबार कार्यालय खोल्ने समयमा दश मिनेट कार्यालय वरीपरी लामखुट्टे बस्ने स्थानहरु खुल्ला भाँडामा जम्मा भएको सफा पानी, गमलामा भएको पानी घोप्ट्याएर लार्भाको वृद्धी विकास रोक्नुपर्ने बताए ।

लार्भाको वृद्धि विकास रोकेमा मात्रै डेंगु नियन्त्रण हुने बताउदै उनले सबैले आ(आफ्नो क्षेत्रबाट लार्भाको वृद्धि विकास रोकेर डेंगु नियन्त्रणमा प्रयास गर्नुपर्ने बताए । नगरपालीकाले लार्भा नष्ट गर्नका लागी विषादी छर्किने काम गरीरहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

यो लामखुट्टेले विशेषगरि दिउँसो मात्र टोक्ने गर्दछ र वर्षादको मौसम शुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ । एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण रहेको चिकित्सकहरु बताउदछन् ।

डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.