बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ । महाकाली राजमार्ग अन्तरगत जिल्लाको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुदा चालक र सहचालक घाइते भएका हुन् ।
बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१-००१ ज १३५२ नम्बरको जीप गएराति पौने १२ बजे तारलमा दुर्घटना भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
दुर्घटनामा परी जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका-१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन् । घाइते चालकलाई उपचारका लागि डडेलधुरा रेफर गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
जीप सडकबाट १०० मिटर तल खसेको थियो । जीपमा चालक र सहचालक मात्रै सवार थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
