कैलालीमा महिलाको हत्या अभियोगमा ४ जना पक्राउ
ढुंगामुनी लुकाईएको शवमा बेरिएको कुर्ता शुरुवालबाट मृतकको पहिचान
धनगढी : कैलालीमा महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–४ भल्का बस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले पक्राउ पर्नेमा भल्का बस्ने ४० वर्षीया गोमा रावल, बर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोलि बस्ने ३७ वर्षीयासरिता रावल रहेको जानकारी दिए । मृतक र गोमा रावलबीच जग्गा सम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रुपमा उनको हत्या गरेको खुुलेको डीएसपी चन्दले बताए ।
मृतक रावलका छोरा बिवेकले गत जेठ २५ गते वकिललाई भेट्न गौरीगंगा नगरपालिकाको मसुरीया जान्छु भनि हिडेकी आमा घर नफर्किएको र मोबाईल समेत बन्द रहेको हुँदा खोज तलास गरी पाँउ भनि असार १ गते प्रहरीमा निवेदन दिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले मञ्जु रावलको हत्या भएको निष्कर्षसहित उनीहरु चार जनालाई पक्राउ गरेको थियो ।
साउन १४ गते प्रतिबादी सरिता रावलले मन्जुको हत्या गरेर शव मोहन्याल गाउँपालिका–५ को बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको बयान दिएकी थिइन् । सोही आधारमा प्रहरीले उनलाई घटनास्थल लगेको थियो ।
उनले भनेकै स्थानमा शवका केही भाग छरीएर रहेको हड्डी (कंकालहरु) टुक्रा–टुक्रा फेला परेको, सोहि हड्डिमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवालबाट मृतकको पहिचान भएको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।