अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१२ ओलानीकी देउसरी तिरुवालाई घर हस्तान्तरण गरिएको छ । वडा कार्यालय, वन र स्थानीयको सहयोगमा निर्मित घर सोमबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले देउसरीलाई हस्तान्तरण गरेका हुन ।
एकल महिला देउसरीको यस अघि माइतीले दिएको टहरामा आगलागि भएको थियो । बैशाख १ गते आगलागी भएर घर संगै उनले पालेका गाइ र बाख्रा समेत जलेका थिए । घर जलेपछि अलपत्र परेकी देउसरीको घर निर्माणका लागि वडा कार्यालयबाट १ लाख, रातोपानी सामुदायिक वनबाट काठ र स्थानीय समाजसेवी धर्मराज ओझाले ढुङ्गा बालुवा सहयोग गरेपछि घर तयार भएको हो ।
घर निर्माणका लागि देउसरीका देवरले जग्गा सहयोग गरेका थिए । देउसरीका श्रीमान माओवादी द्धन्द्धका क्रममा बेपत्ता भएका थिए । उनका १ छोरा र एक छोरी रहेका छन । आगोले घर जलेपछि उनको नयाँ घर बनाउन सक्ने अवस्था नभएकाले घर निर्माणका लागि सहयोग गरिएको वडा अध्यक्ष भीम खड्काले बताएका छन ।
उनले वडामा अति नै विपन्न घरबार विहिनका लागि आर्थिक बर्ष २०७९/०८० मा बजेट विनियोजन गरिएकाले सोही रकमबाट देउसरीको घर निर्माण गरिएको बताए । उनले देउसरीको आयआर्जनमा सहयोग पुगोस् भनेर वडाबाट बाख्रा पनि वितरण गरिएका बताए ।
नगरप्रमुख विरेन्द्र भट्टले देउसरीको घर जलेपछि नगरबाट तत्काल ३५ हजार बरावरको खाद्यान्न सहयोग गरिएको बताए । उनले नगरमा घरबार विहिन र खरको छाना हटाउने अभियान अन्तरगत ७५ प्रतिशत काम सम्पन्न भएको बताए ।
