अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नि:शुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आफ्नै लगानीमा सम्मानजनक मृत्यु यात्राका लागि नि:शुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइएको हो ।
नगरबासीहरुको सहजताका लागि शव वाहन सञ्चालनमा ल्याईएको नगरप्रमुख विरेन्द्र भट्टले जानकारी दिए । उनले शव वाहनले नगरका अति विपन्न परिवारहरुलाई राहत प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले नगरमा सञ्चालित शव वाहनले नगरका सबै वडाहरुमा रहेका नागरिकहरुलाई सेवा दिने लक्ष्य राखेको बताए । उनका अनुसार नगरपालिकाले ३१ लाखको लागतमा उक्त शव वाहन सञ्चालनमा ल्याएको हो ।
यानभित्र पार्थिव शरीर र किरियापुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहेको छ । यानको अगाडिको भागमा फूलमाला सहित मृतकको फोटो राख्न मिल्ने व्यवस्था छ । सो यान गोदावरी नगरपालीका भित्र सञ्चालन हुने बताईएको छ ।