कञ्चनपुरको कृष्णपुरमा वृहत वृक्षारोपण, ४ हजार बिरुवा रोपिए

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ४ हजार बिरुवा रोपिएका छन् । कृष्णपुर नगरपालिकाको आयोजनामा वडा नम्बर ५ को हरियाली सामुदायिक वन क्षेत्रमा शनिबार एक कार्यक्रमका बिच नगरप्रमुख हेमराज ओझाले बेतको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका हुन ।

सामुदायिक वनको उत्तर पुर्वी भागमा २ हजार बेत र २ हजारभन्दा अधिक बाँसका बिरुवा रोपिएका हुन । नगरप्रमुख ओझाले कृष्णपुरका अधिकांश सामुदायिक वनसँग सहकार्य गर्दै बेत र बाँस ठुलो मात्रामा उत्पादन गरेर नगरमै उद्योग संचालनमा ल्याउने योजना रहेको बताएका छन् । उनले एकातिर वनजंगल हराभरा भए वातावरण स्वच्छ रहने र अर्कोतिर स्थानीयलाई आफ्नो सीप तथा कला मार्फत रोजगारी सृजना हुने भएकोले आफुले बेत र बाँस रोपन कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

नगरप्रमुख ओझाले वडा नम्बर ४ को चुरे क्षेत्रतिर मह उत्पादनको पक्कड क्षेत्र भएकाले चिउरी खेती, बजारमा कागतीको असाध्यै माग हुने भएकोले विभिन्न सामुदायिक वनहरुसँग समन्वय गर्दै कागती खेती गर्ने योजना रहेको बताए । अघिल्लो वर्ष पनि हरियाली सामुदायिक वनमै झण्डै २ हजार बाँसका बिरुवा रोपिएका थिए ।

वृक्षारोपण कार्यक्रममा नगरप्रमुख ओझासहित कृष्णपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टेक पाण्डे, हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठारा, पुर्व अध्यक्ष दिल देउवा, सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीबाट मोहनदेव पन्तको नेतृत्वमा ३० जनाको टिम र दर्जनौं संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.