अत्तरिया : कैलालीको अत्तरियामा रहेको किसान कृषि सहकारी संस्था लिमिटेडको ८औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गोदावरी नगरपालिका २ मा रहेको उक्त सहकारीको मंगलबार ८औ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारीकी सञ्चालक समिती अध्यक्ष राधा बिष्ट कुवँरको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धनगढीका प्रमुख कृष्ण रावल प्रमुख अतिथि रहेका थिए । संस्थाकी प्रबन्धक सुना रोकायाले आयव्यय प्रस्तुत गर्दै आर्थिक बर्ष २०७९/०८० मा ३ करोड ९३ लाख ९५ हजार ९ सय २८ रुपैयाँ आर्थिक कारोबार भएको बताईन् । उक्त कारोबारबाट सम्पूर्ण खर्च कटाई ६२ हजार ६ सय ७६ रुपैयाँ खुद नाफा आर्जन गरेको उनले बताइन ।
यस्तै संस्थाले निक्षेप तर्फ २ करोड १९ लाख ८७ हजार रकम बराबरको बचत संकलन गरेको, जगेडा कोषमा २२ लाख १३ हजार ७ सय ६७ रुपैया रकम रहेको र संस्थाले ३ करोड ६३ लाख ७५ हजार ७ सय ६० रुपैयाँ ऋणमा लगानी गरेको प्रबन्धक रोकायाले बताइन् । उनले संस्थाका शेयर सदस्यहरूलाई कृषि क्षेत्र तर्फ आकर्षित गर्दै अर्गानिक खेती गरी बिसादिमुक्त बनाई आर्थिक अवस्था सुधारमा जोड दिँदै आइरहेको पनि बताइन् ।
कृषि लाई पहिलो प्राथमिकता दिदै अर्गानिक खेतिमा निर्भर गरी आगामी आर्थिक बर्ष २०८०/०८१ म गोदावरी ४ मा रहेको गोदावरी धाम नजीकै गौशाला निर्माण गरिने बताईन् । उनले गौशाला निर्माण गरी त्यहाँ भएका गाई गोरु बाट संकलन हुने दूध, दही, घ्यू उत्पादन संगै पशुको अर्गानिक मल समेत उत्पादन गरी बजारमा उपलब्ध गराउने बताईन् । संस्थाले विशेष गरी महिलाहरुको जीवन स्तर उकास्न सहजीकरणको लागि सहकारीमा आबद्ध सदस्यहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको पनि बताईन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले किसान कृषि सहकारीलाई सफलताको शुभकामना दिदै सहकारी सदस्यमा आबद्ध भइसकेपछि सदस्यहरूले निष्क्रिय भएर बस्न नहुने बताए । उनले सहकारी सस्थाले सदस्यहरूलाई निरन्तर विभिन्न सीपमूलक तालिमहरु प्रदान गरी सक्रिय रुपमा जीवनस्तर वृद्धि गर्न सहज बनाउदै लैजानुपर्ने बताए । सहकारीले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका सहज तरिकाले ऋण प्रदान गर्दै आइरहेको समेत बताए ।
कार्यक्रममा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशी विशिष्ठ अतिथि रहेका थिए भने अतिथीहरुमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक वासुदेव भट्ट, गोदावरी कृषि सहकारीका प्रवन्धक डिल्लीराज पनेरु, पुर्व शिक्षक राजेन्द्र विष्ट, शेयर सदस्य लगायतको उपस्थिीती रहेको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाकी अध्यक्ष राधा विष्ट कुँवरले गरेकी थिईन् भने संस्थाको लेखा प्रतिवेदन लेखा समिती सदस्य शान्ति फुलाराले प्रस्तुत गरेकी थिईन् । संस्थाकी उपाध्यक्ष सान्ता कामीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शारदा फुलाराले गरेकी थिइन् ।
२०७२ सालमा २७ जना शेयर धनी हरु मिलेर संचालनमा ल्याएको यस सहकारी संस्थामा हाल १ हजार ८ सय ८९ जना शेयर सदस्यहरु रहेको र यस संस्थाको कुल शेयर पूंजी ४६ लाख ९२ हजार १ सय रहेको छ ।