अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया चोकका बोर्ड हटाएको छ । चोकमा राखिएका व्यवसायीक प्रयोजनका बोर्ड मंगलबार हटाइएको हो । नगर प्रमुख वीरेन्द्र भट्टले १५ वर्षको सम्झौता भएपनि सम्झौता अनुसार काम नभएकाले बोर्ड हटाइएको बताए ।
उनका अनुसार नगरपालिकाले वार्षिक पाँच लाखमा अत्तरिया चोकमा बोर्ड राख्न दिने क्यालडोन ग्राफिक कम्पनीसँग सम्झौता गरेको थियो । तर कम्पनीले सम्झौता अनुसारको रकम दिएको छैन । पाँच वर्षको नगरपालिकाले २५ लाख रुपैयाँ कम्पनीसँग असुल गर्न बाँकी छ ।
नगर प्रमुख भट्टले भने, ‘हामीले पटक–पटक पत्रचार गरेका थियौ । उहाँहरुको जवाफ आएन् । फोन गर्दा पनि बेवास्ता गर्नु भयो । सम्झौता अनुसारको कुनै काम गर्नु भएको छैन । पाँच वर्षको एक रुपैयाँ पनि तिर्नु भएको छैन। उहाँहरुका बोड हामीले हटाएका छौ ।’
सुदूरपश्चिमको मुख्य चोकमा व्यापारीक प्रयोजनका बोर्डहरु राख्न नहुने नगरवासीले माग गर्दै आएका थिए । उनीहरुले नगरपालिका अर्थात प्रदेशको पहिचानसँग जोडिएका पोष्टरहरु चोकमा राख्नुपर्ने माग गरेका थिए । यता नगरपालिकाले भने ट्राफिक ऐनले पनि चोकमा बोर्ड राख्न समस्या भएको बताएको छ ।
२०७६ मा गोदावरी नगरपालिका र क्यालडोन ग्राफिक कम्पनीबीच चोकमा व्यवसायीक प्रयोजनका लागि बिलबोर्ड राख्ने सम्झौता भएको थियो ।