अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा हात्तीको बथानले धानबालीमा क्षति गरेको छ। बिहीबार राति गोदावरी नगरपालिकाको वडा नम्बर ८ लालपुर क्षेत्रमा आएको हात्तीको बथानले धानबालीमा क्षति गरेको स्थानीयले बताएका छन् ।
वडाध्यक्ष गोविन्द चौधरीका अनुसार १४ वटा हात्तीको समूह वनबेहडा, बल्मी हुँदै राति लालपुर पुगेको हो । राती आएको हात्तीको बथानले उक्त क्षेत्रमा किसानको धानमा क्षति गरेको उनले बताए । राति २ बजेको समयमा बच्चा सहितका १४ वटा हात्तीको बथान स्थानीयले खेतमा देखेको वडाध्यक्ष चौधरीले बताए ।
हात्तीको बथानले स्थानीय रामकृष्ण रानाको २ कट्ठा जमिनमा लगाएको धानबाली र दिनेश चौधरीको १ कठ्ठा जमिनमा लगाएको आलु तथा अन्य तरकारी समेत नष्ट गरेको छ । लामो समयपछी यो क्षेत्रमा हात्ती आएर बाली नष्ट गर्नथालेपछि स्थानीय चिन्तित बनेका छन् ।
उता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन मनोज ऐरका अनुसार बच्चासहितका २२ वटा हात्ती कैलाली–कञ्चनपुर क्षेत्रमा छन् । उनीहरु आहाराका लागि जंगलमा घुमिरहेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ४र५ वटा हात्तीको स्थायी बसोबास रहेको उनले बताए ।
यहाँबाट हात्तीको ठूलो बथान आउने–जाने गरेको हुन्छ । राष्ट्रिय निकुञ्जले चुरेफेदीमा राखेको क्यामेरामा हात्तीको बथान देखिएको उनले जनाए । कैलाली–कञ्चनपुरमा हात्तीको जंगल मासिएकाले हात्तीलाई चरनको समस्या हुने गरेको उनको भनाइ छ।
