सुदूरपश्चिममा ५ जनाले ज्यान गुमाए दशैँ अवधिमा भएका सवारी दुर्घटनामा

अत्तरिया : दशैँ अवधिमा भएका सवारी दुर्घटनामा सुदूरपश्चिममा ५ जनाको मृत्यु भएको छ । घटस्थापना (असोज २८ गते) देखि (कार्तिक ७) दशैँ टिकाको दिन सम्म भएका ८ सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दशैँको १० दिनको अवधिमा ५ मोटरसाइकल, २ जिप/कार र २ ट्याक्टर दुर्घटनामा परेका छन ।

उक्त दुर्घटनामा परेर ९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीले बताए । उनले विगतका तुलनामा यस वर्षको दशैँ अवधिमा कम दुर्घटना भएको बताए । सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका ट्राफिक प्रहरी र प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार भने दशैँको अवधिमा २० जना घाइते भएका छन ।

सुदूरपश्चिममा घटस्थापनाको बिहान बैतडीको पाटन नगरपालिका हिरापूर नजिक जिप दुर्घटना भएको थियो । धनगढीबाट दार्चुलाको लागि छुटेको म १ ज २६० नम्बरको जिप दुर्घटना हुँदा ३ जना यात्रु घाइते भएका थिए । यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो । रुखमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका श्याम बिनाडीको मृत्यु भएको थियो । असोज ३० गते कैलालीको जोशीपुरबाट डोटीको बडिकेदार जाँदै गरेको बस दुर्घटना परे पनि मानवीय क्षेति नभएको प्रहरीले जनाएको छ ।

यस्तै महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुर्घटना भएपनि सो दुर्घटनामा पनि मानवीय क्षति भएको थिएन । कार्तिक १ गते कैलालीको धनगढी उपमहानगरपालिका- ५ निसर्ग अस्पताल अगाडी डोटी सायल गाउँपालिका-५ का पदम रोकायाले चलाएको सु.प.प्र.०१-००८ प १४६२ नं. को छाडा गाइलाई ठक्कर दिंदा गाईको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा चालक घाइते भएका थिए । कार्तिक ३ गते कैलाली गोदावरी नगरपालिका-४ मा धनगढी उपमहानगरपालीका ११ बस्ने बर्ष २८ को टेक बहादुर चौधरीले चलाएको से ६ प २००६ न. को मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिदा गाईको घटनास्थलमा मृत्यु मृत्यु भएको थियो । दुर्घटनामा चालक घाइते भएका थिए ।

कार्तिक ३ गते नै बैतडीमा ट्याक्टर दुर्घटना भएको थियो । दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका-२ स्थित पाताल भुमेश्वर गेट नजिकै सुदूरपश्चिम प्रदेश ०१-००२त ४५०५ नम्बरको ट्याक्टर दुर्घटनामा परे पनि चालक भने फरार भएका थिए । सो दुर्घटनामा पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । कार्तिक ३ गते नै डोटीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानीखालमा दुर्घटना भएको थियो । सोही दिन बझाङमा भएको जिप दुर्घटनामा परेर १ जनाको मृत्यु भएको थियो ।

छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जिप दुर्घटनाका स्थानीय २५ वर्षीय रमेश महत (इनार) को मृत्यु भएको थियो । भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । कार्तिक ३ गते राति कैलालीको बर्दगोरिया गाउँपालिका-२ स्थित पुर्व पश्चिम राजमार्गमा बा ७८ प ३६४६ नम्बरको मोटरसाइकलले जोशीपुर गाउँपालिका-४ हस्नापुरका ३६ वर्षीय साइकल यात्री डाटाप्रसाद चौधरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

कार्तिक ४ गते डडेल्धुरामा अटो दुर्घटना भएको थियो । आलिताल गाउँपालिकामा सुपप्र ०२००१ह १७४० नम्बरको अटो दुर्घटना हुँदा २ जना घाइते भएका थिए । कार्तिक ४ गते नै बाजुरामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो । सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्ग अन्तर्गत बडीमालिका नगरपालिका-६ मा पर्ने जडाङ्गा नजिकै ट्याक्टर दुर्घटना हुँदा बडीमालिका नगरपालिका-६ कोर्धका अन्दाजी ३५ वर्षीय बहादुर दानीको घटना स्थलमै मृत्यु भएको थियो ।

कार्तिक ४ गते कैलालीको गोदावरी नगरपालिका-५ गेटा स्थित भित्री सडक खण्डमा से १ त ७९४५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई नालीमा पल्टिएर चालक गोदावरी नगरपालिका-८ का ३५ वर्षीय रामकिशन चौधरीको मृत्यु भएको थियो । दुर्घटनामा ट्याक्टरमा सवार रहेका गोदावरी नगरपालिका-५ बरबटाका ३४ वर्षीय बख्खु बिक घाइते भएका थिए ।

कार्तिक ६ गते डडेल्धुरामा जिप दुर्घटना हुँदा १ जना घाइते भएका थिए । गन्पधुरा गाउँपालिका-३ स्याल्तडामा से १ ज ५१७ नम्बरको जिप दुर्घटना हुँदा अमरगढी नगरपालिका-११ का २५ वर्षीय चालक करन बिक घाइते भएका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.