दार्चुला : भारततर्फ पहरा फुटाउन जिलेटिन बिष्फोट गरिदा त्यहाँबाट उछिट्टिएर आएको ढुंगाले लागेर एक जना बालकको शुक्रवार बिहान मृत्यु भएको छ । दार्चुलाको व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय पवन महराको मृत्यु भएको हो ।
भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीले पहरा फुटाउन जिलेटिन बिष्फोट गर्दा उछिट्टिएको ढुंगा टाउँकोमा लाग्दा महराको घटनास्थलमै मृत्यु भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले ढुंगाले लागेर बालकको मृत्यु भएको जानकारी आएको तर त्यो ढुंगा पारिबाट आएको हो वा होइन त्यसबारे अनुसन्धानपछि थाहाँ हुने बताए ।
गाउँपालिका अध्यक्ष धामीका अनुसार तिहार विदा सक्काएर दुम्लिङस्थित विद्यालयतर्फ आउदै गर्दा बालकको मृत्यु भएको हो । घटनामा केही स्थानीय पनि घाइते भएका छन् । केही साताअघि पनि भारतबाट आएको ढुंगा लागेर नेपालतर्फ बाटो मर्मत गरिरहेका केही स्थानीय घाइते भएका थिए ।