डोटी : डोटीको दिपायल-सिलगढी नगरपालिका-५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । मङ्गलवार बिहान दिपायल-सिलगढी नगरपालिका-५ पुन्ना स्थित सडक नालीमा मृत भेटिएका ३० वर्षीय भट्टको हत्या आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रण लिइएको हो ।
साथै उनको हत्या गरिएको भन्दै आफन्तले शव उठाउन नमानेका छैनन् । घटनाको पाँच दिन भइसक्दा पनि प्रहरीले अझै हत्यारालाई कानुनको दायरामा ल्याउन नसकेको मृतकका भाइ डिल्ली भट्टले गुनासो गरे । उनले दाइको हत्या नै भएकाले प्रहरीले छिटो अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।
मृतकका आफन्तले हत्यारा पत्ता लगाई न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन् । पोस्टमार्टम गरिएको समीरको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए।
घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको उनले बताए । बिहीवार म्याद थप गरी उनीहरुमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
