नक्कली टिकट ठेली प्रकरण: प्रहरीमा दुईजना विरुद्ध किटानी जाहेरी

अत्तरिया : कैलालीको अत्तरियामा सम्पन्न सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी परेको छ । महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघले जाहेरी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय पुगेको संघका ११ जना पदाधिकारीको हस्ताक्षरसहित दुईजना विरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । संस्थाका सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महरा विरुद्ध जाहेरी परेको हो । महोत्सवमा टिकट वितरकको जिम्मेवारी सचिव साउँदलाई दिईएको थियो भने स्ववियु सभापति महराले टिकट बिक्रीको जिम्मा पाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका एसपी देबेन्द्रबहादुर पालले किटानी जाहेरी प्राप्त भएको बताउँदै दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिए । प्रहरीले किटानी जाहेरीका आधारमा अदालती प्रक्रियामा गएर सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न मिल्ने बताए । जाहेरी दर्ता पछि अदालतले अनुमति दिएमा किटानी जाहेरी दिएका दुवै जनालाई पक्राउ गरिने प्रहरीको भनाइ छ ।

कैलालीको अत्तरियामा अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन भएको थियो । महोत्सवको आठौं दिन आयोजकको टिमले महोत्सव स्थलमा २८ नक्कली टिकट ठेली फेला पारेपछि घट्ना बाहिरिएको हो ।

उक्त घटनाको अनुसन्धानको माग गर्दै संघले यसअघि प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएको थियो । संघले टिकटका ठेली प्रहरीलाई बुझाईसकेको छ भने घटनाको चारैतिर बिरोध भैरहेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.