अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्वअध्यक्ष अशोकराज देवकोटा अझै प्रहरीको सम्पर्कमा आएका छैनन् । नक्कली टिकट प्रकरणमा नाम जोडिएपछि खोजी गरिरहेको प्रहरीले दुबै जना अझै सम्पर्कमा नआएका बताएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले दुबै जना सम्पर्कमा नआएका बताए । ‘छैन, उहाँहरु अझै सम्पर्कमा आउनुभएको छैन’, उनले भने । प्रहरीले आफूहरु खोजीमै रहेको बताउँदै आएको छ । तर अहिलेसम्म खोजी गर्न भने सकेको छैन ।
अत्तरियामा गत पुष २६ गतेदेखि माघ ७ गतेसम्म सञ्चालित आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएका थिए । उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको थियो । प्रहरीले यस प्रकरणमा अनुसन्धान गरिरहेको जनाएको छ ।