अत्तरिया : कार्यकर्तामाँझ निकै लोकप्रिय रहेका आनन्द भट्टले एमाले कैलालीको सचिव बन्न दावी पेस गरेका छन् । बिद्यार्थिकालबाटै राजनिति शुरु गरेका भट्ट यस पटक एमाले कैलालीको पदाधिकारी बन्न अगाडी बढेका हुन् । लामो समय बिद्यार्थी, युवा र पार्टीको टोल, वडा, पालिको नेतृत्व सम्हाल्दै जिल्ला सदस्य हुँदै स्थानिय बिभाग प्रमुख सम्म भएर काम गरिसकेका भट्ट यस पटक सचिवका बलियो दावेदारको रुपमा उभिएका हुन् ।
अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अनेरास्ववियु अध्यक्ष, अनेरास्ववियु कैलाली जिल्ला सहसचिव,सेती अञ्चल कमिटि सदस्य हुँदै दुर्गालक्ष्मी क्याम्पसको स्ववियु सभापति उम्मेदवार, युवा संघको केन्द्रीय अनुशासन आयोग सदस्य भएर काम गरिसकेका भट्ट यसपालि कैलाली जिल्ला कमिटी सचिवका लागि उम्मेदवार बन्न लागेका हुन् ।
भट्ट नेकपा एमाले अत्तरिया नगर कमिटिको प्रथम निर्वाचित अध्यक्ष, नेकपा एकता प्रक्रिया पछि गोदावरी नगर कमिटी सचिव तथा हाल नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य छन् ।
बैचारिक नेताका रुपमा परिचित भट्ट एमालेको गुटगत राजनितिको प्रभावमा निकै परिरहे । बिगतमा ओली समुहका कट्टर मानिने भट्ट सुदुरपश्चिममा भिम रावल समुहबाट चेपुवामा रहे । रावलको प्रभाव कम भएपछि गोदावरीको राजनितिमा भट्ट जहिलेपनि पेलानमा परे । गोदावरीमा एमालेलाई सशक्त बनाउन मुख्य भुमिका निर्बाह गरेका भट्टकै कार्यकालमा एमालेले नगरको प्रमुख र उप प्रमुख सहित कार्यपालिका जितेको थियो ।
एमाले र माओवादी एकतापछि भट्ट नेकपाको सचिव बने । त्यस बेलादेखीनै गोदावरीको राजनितिमा फेरी भट्ट पेलिन थाले । आठौँ जिल्ला अधिवेशनका बेला गोदावरी नगर कमिटिको अध्यक्ष बन्न निकै जोड गरेका भट्टलाई अध्यक्ष बन्न दिइएन । झन उनलाई गोदावरी पार्टीका कार्यक्रममै निशेध गरियो । त्यसपछि जिल्ला कमिटि सदस्य भएर काम गरेका भट्टलाई गोदावरी नगरको ईन्चार्ज बनाइएपनि उनलाई काम गर्ने वातावरण समेत दिइएन ।
पार्टीभित्र निकै पेलिएका भट्ट यस पटक पदाधिकारी बन्न तयार छन्। गोदावरी पार्टीको नेतृत्वबाट भट्ट हटेपछि नगर प्रमुख संगै कार्यपालिका समेत एमालेले गुमाउनु परेको छ । त्यस संगै प्रदेश र संघको निर्वाचनमा समेत हार ब्यहोर्नु परेको छ ।
युवा माझ लोकप्रिय रहेका भट्ट एमाले कैलाली जिल्ला सचिवमा निर्वाचित भए पार्टीलाई सशक्त बनाउने दाबी गर्छन् । उनी युवाको प्रतिनिधित्व सङ्गै आगामी चुनाबमा एक नम्बर पार्टी बनाउने दाबी गर्छन ।
‘मैले मेरो योगदान कतै भनिराख्नु पर्दैन टोल देवी नगरको पार्टी बनाउन मैले गरेको योगदान सबैलाई थाहा छ, हालसम्म कुनै लाभको पदपनि लिएको छैन’ उनले भने ‘सबल पार्टी निर्माणका निम्ति सबै नेता कार्यकर्ताको मागपछि उम्मेदवारी दिएको छु चुनाव बाट होस या सहमतिमा जिम्मेवारी लिने हो, जिल्लाका प्रत्येक पालिका पुगेर हरेक नेताकार्यकर्ता सङ्गको सल्लाह गरेर सबैको आग्रहमा उम्मेदवारी दिएको छु । जिम्मेवारी पाए इमानदारिता पूर्वक काम गर्ने हो ।’