राजनीति गरेको आरोपमा शिक्षकबाट निकालिएका भट्ट बने प्रदेश प्रमुख

डोटी : १८ वर्षको उमेरमा शिक्षण पेशामा प्रवेश गरेका एक युवा छोटो अवधिमा पेसाबाट निष्कासन हुनु पर्‍यो । कारण थियो, राजनीति ।तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाएको भन्दै शिक्षण पेसाबाट निष्कासनमा परेको उनै व्यक्ति आज प्रदेश प्रमुखको जिम्मेवारीमा पुगेका छन् । कुरा हो, डिल्लीराज भट्टको ।

मन्त्रीपरिषद्ले सोमवार तीन प्रदेशका प्रदेश प्रमुखहरू बर्खास्त गरी नयाँ नयाँ प्रदेश प्रमुखका लागि नाम सिफारिस गर्दा भट्ट गण्डकी प्रदेशका लागि सिफारिसमा परेका हुन् ।

कैलालीको धनगढीमा रहेको पञ्चोदय माध्यमिक विद्यालयबाट माध्यमिक तहसम्मको अध्ययन पुरा गरेका भट्टपछि सोही विद्यालयमा शिक्षक भएर काम गरेका थिए । शिक्षक हुँदा पनि तत्कालीन राज्य व्यवस्थाको विरोध गरेको भन्दै २०३० सालमा भट्टलाई विद्यालयबाट निष्कासित गरिएको थियो ।

विद्यालयबाट निष्कासित भएसँगै पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर लागेका भट्ट कम्युनिष्ट बिचार र आफ्नो सपना जनताका बिचमा बाँड्दै डोटी र कैलालीका गाउँवस्तीहरुमा पुग्ने गरेका थिए । दुई पटक उम्मेदवार बन्ने अवसर प्राप्त गरे पनि पराजित हुन पुगेका भट्ट कुनै पनि लाभको पद प्राप्त नगरेका कम्युनिष्ट नेता हुन् ।

२००७ साल भाद्र १४ गते डोटीको जोरायल गाउँपालिका–४ (साबिक लक्ष्मीनगर गाविस) मा आमा मधु भट्ट र बुवा तिलख भट्टको सन्तानको रूपमा जन्मिएका भट्ट सुदूरपश्चिमका पुराना कम्युनिष्ट नेताको रूपमा चिनिन्छन् ।

Godawari_Tato hawa_Lu

१६ वर्षकै उमेरमा २०२१ सालमा नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रवेश गरेका भट्टलाई राजनीतिक गतिविधि गरेको आरोपमा २०२६ साल माघ १६ गते शहीद दिवसको दिन पञ्चायती सरकारले गिरफ्तार यातना दिएको थियो ।

जेलबाट रिहा भए लगत्तै कम्युनिष्ट पार्टीसँग नजिक रहेका भट्ट २०२८ मा कम्युनिष्ट पार्टीमा आन्तरिक रूपमा सक्रिय भएर लागेका थिए । भट्टले २०२८ वैशाख ३ गते नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी ९मनमोहन० समूहको सदस्यता प्राप्त गरेका थिए ।

कम्युनिष्ट पार्टीको प्रारम्भिक कमिटी हुँदै कैलाली जिल्ला संयोजक बनेका भट्ट २०४७ सालमा डोटीको नेकपा एमालेको संयोजक वने । उनी २०५६ सालमा जिल्ला सचिव जिम्मेवारीमा पुगे । त्यति वेला एमालेमा सचिवीय प्रणाली थियो ।

२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा डोटी जिल्ला निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधि सभा सदस्यका लागि एमालेले भट्टलाई चुनावी मैदानमा उता¥यो । तर उनी त्यो लडाइँमा सफल हुन सकेनन् ।

२०७८ सालमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि एमालेबाटै उम्मेदवार बनेका भट्टलाई फेरी पनि असफलता नै हात पर्‍यो । तत्कालीन सेती अञ्चल समन्वय कमिटी, प्रदेश समन्वय कमिटी हुँदै हाल एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका भट्टलाई डोटी, कैलाली लगायत सुदूरपश्चिमका धेरै कम्युनिष्ट नेताहरूले राजनीतिक गुरु मान्ने गर्छन् ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले २०७८ सालको १२ साउनमा नियुक्त भएका गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ, सोही १ भदौमा नियुक्त भएका मधेशका हरिशंकर मिश्र र २३ कात्तिकमा नियुक्त भएका सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

रिक्त हुने पदहरूमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने समेत सोमवारै मन्त्रीपरिषद्ले निर्णय गरेको थियो ।नेपालप्रेसबाट

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.