बैतडीमा तिनदिन देखी बेपत्ता पुरुष मृत फेला, शिक्षिकाबाट हत्या गरेको स्विकार

बैतडी : बैतडीमा शिक्षिकाले बेपत्ता पारेका भनिएका पुरुष मृत फेला परेका छन् । पाटन नगरपालिका-६ का ५१ वर्षीय वीरभान सिंह विष्ट मृत फेला हुन् । वीरभानको शव नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

उनी शनिबारदेखि परिवारको सम्पर्कमा थिएनन् । वीरभानको खोजिका लागि उनका भाइ खडक विष्टले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय पाटनले शिक्षिका ३६ वर्षीया भागरथी विष्टलाई पक्राउ गरेको थियो । एकल महिला समेत रहेकी भागरथीले हत्या गरेको स्वीकार गरेकी बताइएको छ । उनले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी छन् ।

उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने अटो चालकको खोजीमा लागेको छ । सोमबार स्थानीयले भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप र त्यहाँ रगतसमेत देखिएपछि हत्याको आशंका गर्दै प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुलेको छैन । तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माले ती पुरुषको हत्यामा अन्य दुई जनाले सहयोग गरेको पाइएको बताए । उनले भागरथीले हत्यापछि लाश व्यवस्थापन गर्न आफ्ना सहयोगीलाई २०/३० हजार रुपैयाँ दिएको र उनीहरु मेलौलीबाट धनगढी जाने बसमा चढेकाले पक्राउ गर्न सम्वन्धित प्रहरीलाई जानकारी गराइसकिएको बताए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.