अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका वडाहरुमा आज देखी योजना छनोटका लागि टोल भेला सुरु गरिएको छ । आगामि आर्थिक बर्ष २०८२/०८३ का लागि बार्षिक निति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने उद्देश्य अनुरुप वडाहरुमा टोल भेला आजबाट सुरु गरिएको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै यहि बैशाख १९ गते बसेको १२५औं कार्यपालिकाको बैठकले आजबाट बस्ती तथा टोल भेला गर्ने निर्णय गरेको जनाईएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैशाख मसान्त सम्म बस्ती तथा टोल स्तरबाट र त्यसपछि वडाहरुबाट आयोजना र कार्यक्रमको छनौट गर्नुपर्ने प्रावधान अनुसार गोदावरीमा पनि भेला आयोजना गर्न लागिएको छ ।
गोदावरीका १२ ओटै वडाहरुमा आजदेखी सुरु गरिएको बस्ती तथा टोल भेला २८ गते सम्म सञ्चालन हुने भएको छ भने जेठ १ गतेबाट ६ गते सम्म वडा भेला हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
वडाहरुले कार्यतालिका बनाएर चोक,टोल र बस्तीमा भेलाको आयोजना गरिरहेका छन् । टोलबाट योजना छनोट गरिएपछि वडा तथा शाखास्तरीय योजना प्राथमिकीकरण गर्ने गरिन्छ । योजना प्राथमिकरण पछि बजेट तथा कार्यक्रम तर्जुमा समितिद्वारा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा तयार गरिन्छ । एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरेपछि नगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्नुपर्ने प्रावधान रहेको छ ।
