धनगढी : गृह मन्त्रालयले सदरमुकामको सास्ती अन्त्य गर्न सुदूरपश्चिम प्रदेशमा छ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको छ।
दरबन्दी नबढाइ विद्यमान स्रोत प्रयोग गर्ने योजना सहित देशभरी २३ वटा इलाका प्रशासन कार्यालय खोल्ने तयारी भएकोमा सुदूरपश्चिम प्रदेशमा छ वटा परेका हुन् ।
बाजुरामा इलाका प्रशासन कार्यालय कोल्टी, बझाङमा इलाका प्रशासन कार्यालय देउरा, अछाममा इलाका प्रशासन कार्यालय साँफेबगर, डोटीमा इलाका प्रशासन कार्यालय विपिनगर, दार्चुलामा इलाका प्रशासन कार्यालय गोकुलेश्वर र बैतडीमा इलाका प्रशासन कार्यालय मेलौली थप्ने योजना गृह मन्त्रालयको छ ।
ग्रामीण भेगमा रहेका नागरिकलाई प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पेस भएको हो । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा गृह मन्त्रालयले उक्त प्रस्ताव मन्त्रीपरिषद्मा पेस गरेको हो ।
सोमवारको मन्त्रीपरिषद्ले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रीपरिषद्को प्रशासन समितिमा पठाएको छ । दरबन्दी वृद्धि नगरी विद्यमान स्रोतको अधिकतम प्रयोग, स्थानगत आवश्यकता र स्थानी तहसँगको समन्वयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजना गृह मन्त्रालयको छ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायताका सेवा स्थानीय तहसम्म पु¥याउन इलाका प्रशासन कार्यालयको भूमिका अपरिहार्य मानिएको छ ।
