सुदूरपश्चिम महोत्सव: कला–संस्कृतिको उत्सवले भरियो धनगढी

सुदूरपश्चिम महोत्सव पछिल्ला वर्षहरूमा धनगढीमा नियमित रूपमा आयोजना हुँदै आएको एक महत्वपूर्ण सांस्कृतिक एवं व्यापारिक पर्व बनेको छ। तर यो महोत्सव मनोरञ्जन र व्यापारमा मात्रै सीमित नभई क्षेत्रीयदेखि राष्ट्रिय स्तरका नयाँ प्रतिभा पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भइसकेको छ। कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित यस महोत्सवमा कला–साहित्य, लोक–संस्कृति, आधुनिक नृत्य, नाटक र विविध सांगीतिक प्रस्तुतीमार्फत सुदूरपश्चिमको सांस्कृतिक जीवन्तता झनै बढेको छ। स्थानीय कलाकारहरूले हजारौँ दर्शकसमक्ष आफ्नो कला देखाउने सुनौलो अवसर पाउँदै आएका छन्।

विद्यालयस्तरीय नृत्य प्रतियोगिता महोत्सवको मुख्य आकर्षणका रूपमा रहँदै आएको छ। भिन्न–भिन्न समुदायको भेषभूषा र सांस्कृतिक पहिरनमा प्रस्तुत नृत्यहरूले वातावरण झनै रौनकिलो बनाउँदै आएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यालयलाई नगद पुरस्कारसहित सम्मान प्रदान गर्दै आइएको आयोजकले जनाएको छ, जसले विद्यार्थीको प्रतिभा विकास र सांस्कृतिक पहिचान संरक्षणमा सकारात्मक योगदान पुर्‍याएको छ।

 

 

महोत्सवका सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार यस महोत्सवले सुदूरपश्चिमका थुप्रै प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने मार्ग बनाइ दिएको छ। “अवसर नपाउँदा धेरै प्रतिभा ओझेलमा पर्छन्,” उनले भने। आगामी दिनमा बाँकी कलाकारलाई पनि क्रमशः मञ्च उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे।

 

वर्षेनि बढ्दो कलाकार सहभागिता र दर्शकको उत्साहले सुदूरपश्चिम महोत्सवलाई देशकै उत्कृष्ट सांस्कृतिक महोत्सवमध्ये एक बनाएको छ। यसले केवल कला–संस्कृतिलाई सम्बर्द्धन गरेको छैन, स्थानीय अर्थतन्त्र, पर्यटन र सामाजिक एकतालाई समेत बलियो बनाउने काम गर्दै आएको छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.