‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३’ आयोजना हुदै

धनगढी : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले पहिलोपटक ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना गर्ने भएको छ। प्रतियोगिता साउन ८ र ९ गते धनगढीमा सञ्चालन हुने भएको हो ।

प्रतिष्ठानले धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता एकल लोकदोहोरी गायनमा आधारित हुनेछ, जसमा सुदूरपश्चिमका नौवटै जिल्लाका कलाकारले सहभागिता जनाउन सक्नेछन् ।

Godawari_Tato hawa_Lu

प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टका अनुसार प्रतियोगितामा सबै उमेर समूहका गायक-गायिकाले एकल रूपमा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि आवश्यक बाद्यवादन र कोरस आयोजकले नै उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट प्रस्तुति दिए पनि विभिन्न कारणले शीर्ष स्थानमा पर्न नसक्ने प्रतिभालाई प्रोत्साहन गर्न विशेष पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष बिष्टले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको समेत सहभागिता रहने तयारी गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाई परिचय खुल्ने कागजातसहित नाम दर्ता गर्न सक्नेछन्।

अध्यक्ष बिष्टले लोकदोहोरी साँझहरूले नेपाली लोकगीतको संरक्षण, प्रवर्द्धन र कलाकारलाई व्यावसायिक रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रतियोगिताले नयाँ प्रतिभाको खोजी र प्रोत्साहनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने सहआयोजकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कैलाली र कञ्चनपुर शाखा रहेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता प्रतियोगिताले सुदूरपश्चिमका लोकसंस्कृति र प्रतिभाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.