दार्चुला बालक मृत्यु प्रकरण : भारतीय पक्षले माग्यो माफी

पीडित परिवारलाई १० लाख भारू राहत

दार्चुला : महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।

धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए ।

नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो । विस्फोट गराइएको स्थान दुम्लिङस्थित सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीको सीमा सुरक्षा चौकीबाट करिब ४ घण्टा टाढा पर्छ भने छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट करिब १५ किमि तल पर्छ । व्यास र दुम्लिङका सुरक्षा संयन्त्रले बालकको मृत्युबारे केही घण्टापछि मात्रै थाहा पाएका थिए ।

बालकको मृत्युपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पिथौरागढस्थित जिल्लाधिकारी आशिष चौहानलाई टेलिफोन गरेर आपत्ति जनाएका थिए । सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर स्थानीय पनि आन्दोलित भएका थिए । शनिबार दिनभर जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको पिथौरागढस्थित जिल्लाधिकारीको कार्यालय अन्तर्गत धारचुलास्थित तहसिल कार्यालयका प्रतिनिधिको रोहबरमा मृतकका आफन्त र निर्माण कम्पनीबीच वार्ता भएको थियो । स्थानीय जनप्रतिनिधिको टोली भारतीय पक्षसँग वार्ता गर्न मृतकको परिवारलाई लिएर धारचुला पुगेको थियो ।

वार्ताका क्रममा निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै माफी मागेको हो । भारतीय कम्पनीका तर्फबाट निशान्त शाह तथा नेपालबाट व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, निवर्तमान अध्यक्ष दिलीपसिंह बुढाथोकी, व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकी र पवनका बुबा हिक्मतसिंहले सहमतिपत्रमा हस्ताक्षर पनि गरेका छन् । व्यास–२ का वडाध्यक्ष बुढाथोकीका अनुसार भारतीय सडक निर्माण कम्पनीका प्रतिनिधिले पीडित परिवारका बालबालिकालाई १२ कक्षासम्म निःशुल्क पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने बताएका थिए । तर निजी कम्पनी भएकाले रोजगारीभन्दा पनि उचित राहतको माग परिवारले गरेपछि १० लाख भारु उपलब्ध गराउने सहमति भएको थियो ।

भारतीय सडक निर्माण कम्पनीले मृतक पवनका बुबा हिक्मतसिंहलाई शनिबारनै राहत रकम उपलब्ध गराएको छ । हिक्मतसिंहले यसअघि पनि भारतबाट आएका ढुंगा र विस्फोटले आफ्नो घर चर्किएको, खेतमा क्षति पुगेको र गाईबस्तु मरेको हुनाले तम्बाकु क्षेत्रबाट विस्थापित भएको सुनाए । हिक्मतसिंह अहिले तम्बाकुभन्दा अलि माथि रहेको थी क्षेत्रमा खेती गर्छन् र गाईबस्तु पनि त्यहीं पाल्दै आएका छन् । वडाध्यक्ष बुढाथोकीका अनुसार गत भदौमा भारतीय सडक निर्माणका क्रममा गएको पहिरोमा परी व्यास–२ का जयलाल ओड, सुकरिब धामी, धिरेनसिंह धामी र दिनेश धामी घाइते भएका थिए ।

जयलाल भारतको पिथौरागढ र धिरेन धनगढीमा उपचाररत छन् । उनीहरूले अहिलेसम्म कुनै प्रकारको क्षतिपूर्ति नपाएको बुढाथोकीले बताए । विस्फोट गराएको केही महिनापछि ठूलो पहाड खस्दा उनीहरू घाइते भएका थिए । उक्त पहिरोले नेपालतर्फको व्यास जोड्ने दुम्लिङ–कल्जु क्षेत्रको घोडेटो बाटो अवरुद्ध भएको थियो । प्रजिअ उपाध्यायका अनुसार भारतीय पक्षसँग शनिबार भएको वार्तामा आगामी दिनमा सीमा क्षेत्रमा निर्माणका काम गर्दा र विस्फोट गराउँदा दुवै देशका प्रशासनबीच प्रभावकारी समन्वय गर्ने, स्थानीयलाई सूचना प्रवाह गर्ने र यस्ता अप्रिय घटना हुन नदिने सहमति पनि भएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.