सुदूरपश्चिममा दशैं र तिहारमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

४४ जना घाइते

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारका बेला भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार प्रदेशभर दशैँ र तिहारको समयमा २४ वटा सवारीसाधन दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । उनीहरु मध्ये १८ जना गम्भीर घाइते भएका छन् भने २६ जना समान्य अवस्थाका रहेको प्रहरीले जनाएको छ ।

दशैँ र तिहारका बेला प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरीको तथ्यांकअनुसार १४ वटा मोटरसाइकल मात्र दुर्घटनामा परेका छन् । पाँच वटा जिप, कार, दुई वटा बस र बाँकी अन्य सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ । यो वर्ष अघिल्लो वर्षको तुलनामा कम सवारीसाधन दुर्घटना हुँदा मानवीय क्षति पनि बढी नभएको ट्राफिक प्रहरीको भनाइ छ ।

गत वर्ष दशैंका बेला भएका १५ वटा सवारी दुर्घटनामा ९ जना र तिहारका बेला भएका १८ दुर्घटनामा एक जना गरेर १० जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरी कार्यालयकाअनुसार दशैं र तिहारमा भएका ३३ वटा सवारी दुर्घटनामा ४५ जना घाइते भएका थिए । उनीहरु मध्ये गम्भीर घाइते हुनेको संख्या मात्र ३२ थियो ।

त्यो बेला प्रदेशभर सबैभन्दा धेरै २३ वटा मोटरसाइकल मात्र दुर्घटनामा परेका थिए भने पाँच वटा जिप, कार र बाँकी अन्य सवारीसाधन दुर्घटनामा परेका थिए । अघिल्लो वर्षको तुलनामा दशैँ र तिहारका बेलाको यो वर्ष कम सवारीसाधन दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।

चेकजाँचमा गरिएको कडाइका कारणले गत वर्षको तुलनामा कम सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले बताए । चेकजाँचमा कडाइ गर्दा समेत दुई पाङ्ग्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेको उनको भनाइ छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.