अत्तरिया : तिहार सकिएसँगै सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा जात्रा सुरु भएको छ । तिहारपछिको १५ दिनसम्म यहाँका शक्तिपीठमा जात्रा लाग्ने गर्दछ । कातिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा लगायतका सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्दै आएको छ ।
सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठ तथा मन्दिरमा कातिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न जात्रा लाग्ने गरेको पण्डित जयानन्द भट्टले बताउनुभयो । शरद ऋतु देवीदेवताको पूजा उपासना गर्ने उत्तम समयका रुपमा मानिने भएकोले कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजन गर्ने चलन रहिआएको छ ।
दसैँमा जात्रा लाग्ने मन्दिरमासमेत कात्तिक शुक्लपक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठमा सामूहिक पूजाआजा गर्ने चलन रहेको भट्टको भनाइ छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । राँगाको बलीसहित पूजाआजा हुने त्रिपुरासुन्दरी मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीसमेत आउने गरेका स्थानीय जयसिंह धामीले बताउनुभयो ।
प्रसिद्ध रौलाकेदार धाममा पनि कात्तिक शुक्ल अष्टमी, शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि कात्तिक शुक्ल सप्तमीमा मेला लाग्ने गर्दछ भने बैतडी सहित बिभिन्न जिल्लाहरुमा जात्रा लाग्ने गरेको छ । दार्चुलामा रहेको राष्ट्रकै सातौँं धामका रुपमा रहेको मालिकार्जुनधाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ ।
त्यस्तै डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । उग्रतारा लगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्दै आएको छ । उता डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठूला केदार, मसानी, शैलेश्वरी, दीपायल जात लगात बिभिन्न ठाउमा जात्रा लाग्ने गरेको छ ।
त्यस्तै ऐतिहासिक अछामको गाज्रास्थित डौठेगडा जात्रा लाग्दछ । विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्रामा सहभागी हुन बसाइँसराइ गरेर तराई लगायतका बिभिन्न जिल्लामा रहेका पनि पुर्ख्यौली थलोमा फर्कने गरेको स्थानियले बताएका छन् । जात्राका बेला पारिवारिक भेटघाट हुने र धार्मिक हिसाबले पनि जात्रा महत्वपूर्ण हुने गरेका छन् ।
