बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् । चुनाव प्रचारका क्रममा बैतडी पुगेका ओलीले कठपुतली सरकारबाट देश नचल्ने बताएका हुन् ।
‘टालाटुली बटुली, कति राम्री कठपुतली’ ओलीले भने, ‘यो कठपुतली हो । यस्ताबाट सरकार चल्दैन । देश चल्दैन, बन्दैन ।’ आगामी चुनाव पछि आफ्नै नेतृत्वमा एमाले सरकार बनाउने ओलीले बताए । आफ्नो सरकार बनाउने नारा मञ्चबाटै ओलीले लगाएका थिए ।
‘त्यसकारण हामीले भनेका छौं । मैले भन्नु भन्दा पनि तपाइँहरुलाई भन्न लगाउछु’ ओलीले अगाडि भने, ‘तपाइँहरुलाई थाहा छ के गर्नुपर्छ । म भन्छु तपाइँहरुले जवाफ दिनुहोस् ।’
यसपछि ओलीले भनेः मंसिर ४ । केही सहभागीले भनेः ओली सरकार । सानो स्वरमा आएको जवाफप्रति ओलीले चित्त बुझाएनन् । ओलीले भने, ‘धेरैले भन्नु भएन ।’ ओलीले फेरि त्यही नारा लगाएः मंसिर ४ । सहभागीले भनेः ओली सरकार । तेस्रो पटक ओलीले नारा लगाएः मंसिर ४ । फेरि सहभागीले भनेः ओली सरकार । अनि ढुक्क भएर ओलीले भनेः जनतालाई थाहा छ । ओलीले अर्को नारा लगाएः गठबन्धन वाइवाई, एमाले हाइहाइ । यसअघिको चुनावमा पनि जनताले एमालेलाई सरकारमा पुर्याएको पनि ओलीले सम्झिए ।
‘नेकपा एमालेलाई तपाइँहरुले सरकारमा पुर्याउनुभयो । तर मुद्दा लडेर, गठबन्धन गरेर, लोभी पापीहरु मिलेर, अदालतमा गएर, कीर्ते मुद्दा हालेर, असंवैधानिक फैसला गरेर, परमादेशबाट जनादेश उल्ट्याएर एमालेलाई हटाइएको छ’ ओलीले भने ।