निर्वाचनका लागि सुदूरपश्चिममा म्यादीसहित १७ हजार ७ सय सुरक्षाकर्मी परिचालन

सबैभन्दा बढी कैलालीमा म्यादी प्रहरी परिचालन

धनगढी : प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार सात सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको सुरक्षाका लागि ११ हजार ५ सय ५९ म्यादी र ६ हजार एक सय ६८ प्रहरी तैनाथ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी कैलालीमा म्यादी प्रहरी परिचालन गरिएको छ ।

जिल्लाभित्र हुने निर्वाचन सुरक्षाका लागि २ हजार ८ सय १२ म्यादी प्रहरी परिचालन गरिएको हो । प्रहरी प्रधान कार्यालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सुरक्षा व्यवस्थाका लागि आवश्यक प्रबन्ध गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । ‘माथिबाट भएको निर्देशनअनुसार सुरक्षा परिचालन गर्ने हो, जिल्लाले यसमा थपघटन गर्ने अवस्था रहँदैन, सुरक्षा संवेदनशिलताको आधारमा सुरक्षा सतर्कता बढाइनेछ,’ उनले भने ।

कैलालीमा प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन् । प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभाका लागि २ सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा सबैभन्दा कम ७ सय ४९ जना म्यादी प्रहरी खटाइएको छ । प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि ४ सदस्यको निर्वाचन हुने अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी खटिएका छन् ।

यस्तै, बैतडीमा एक हजार १९१, बझाङ्गमा एक हजार १८८, डोटीमा नौ सय ५३ डडेल्धुरामा नौ सय ३७ र दार्चुलामा ८ सय २९ म्यादी प्रहरी खटाईएको छ । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत निर्वाचन सुरक्षामा तैनाथ हुने प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरिक्षक भोलाबहादुर रावलले बताए । उनले भने, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा सतर्कता उच्च पारिएको छ, म्यादी प्रहरी आवश्यकताको आधारमा खटाइसकिएको छ ।’

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दुई हजार एक सय ४६ मतदान केन्द्र कायम गरेको छ । यसअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनभन्दा यो निर्वाचनमा ४३ मतदान केन्द्र थपिएका छन् ।

प्रदेशभित्र २६ मतदान स्थल थप भएका छन् । प्रदेशभित्र एक हजार एक ६१ मतदानस्थल कायम गरिएको छ । सुदूरपश्चिममा महिला मतदाता ८ लाख ४२ हजार ७ सय ७४, पुरुष मतदाता ८ लाख १५ हजार २ सय १२ र अन्य १८ गरी कुल १६ लाख ५८ हजार ४ मतदाता छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.