कार्तिक २६ गते अत्तरियामा एमाले अध्यक्ष ओली आउने
एमाले कैलाली क्षेत्र नम्बर ४ ले कार्यक्रमको तयारी गर्दै
अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलालीको अत्तरिया आउने भएका छन् । यहि कार्तिक २६ गते चुनावी आमसभालाई सम्बोधन गर्न ओली अत्तरियामा आउन लागेका हुन् ।
आज (बिहीबार) कैलाली क्षेत्र नम्बर ४ प्रचारप्रसार समतीले अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलमा बोल्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्म राज पाठकले सोही दिन ओलीले डोटीको दीपायल, कैलालीको लम्की र अत्तरियामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने बताए ।
उनले आमसभाको तयारीका लागि यस क्षेत्रमा निर्वाचन परिचालन समितिले तयारी थलिरहेको बताए । एमाले पार्टीको नेतृत्वले सुदुरपश्चिमलाई बिषेश महत्व दिएकाले अध्यक्ष ओली दोस्रो पटक सुदुरपश्चिम आउन लागेको सचिव पाठकले जानकारी दिए ।
उक्त सभामा कैलाली क्षेत्र नम्बर ५, कञ्चनपुर क्षेत्र नम्बर १ र २ बाट समेत जनसमुदायलाई सहभागि गराइने उनले बताए । कैलाली क्षेत्र नम्बर ४ पार्टीका केन्द्रिय सचिव तथा प्रदेश ईन्चार्जको क्षेत्र संगै सुदुरपश्चिम प्रदेशको केन्द्रमा पर्ने क्षेत्र पनि हो ।
प्रचारप्रसार समितीका संयोजक खम्ब बुढाले अत्तरिया स्थित पूर्वरोड बुद्ध मन्दिर नजिक हुने सभाको लागी प्रचार प्रसारको काम थालिएको बताए ।
अध्यक्ष ओली दोस्रो पटक चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिममा आउन लागेका हुन् । यसअघि ओलीले कार्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी आमसभालाई सम्बोधन गरेका थिए ।
