बझाङ : शनिबार राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण बझाङमा एउटा घर भत्किएको छ । भूकम्पको धक्काले अन्य करिब १०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा जिल्लाको खप्तडछान्ना गाउँपालिका ६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पले पाटादेवल गाउँमा घर भत्केको स्थानीयले जानकारी दिएका छन् ।
गाउँपालिकाका धेरै ठाउँमा घरहरु चर्केको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । फेरि भूकम्प आउने डरले स्थानीयहरु रातभरी घर बाहिरै आगो तापेर बसेका थिए ।
बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गाउँपालिकाभरीमा करिब १०० घर भूकम्पका कारण चर्किएको विवरण प्राप्त भएको जानकारी दिए । केही घर भत्किएको भन्ने विवरण समेत प्राप्त भएकाले प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन भएको प्रजिअ अर्यालको भनाइ छ ।
