गोदावरीले नदीजन्य पदार्थको शुल्क बढाएको भन्दै ट्याक्टर व्यवसायी आन्दोलित
१ घण्टा पुर्वपश्चिम राजमार्ग अवरुद्ध
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आजदेखि खोलानालाबाट नदीजन्य पदार्थ खुला गरेको छ । नगरपालिकाले खुला गरेको नदीजन्य पदार्थको शुल्क बढाएको भन्दै ट्याक्टर व्यवसायी आन्दोलित भएका छन ।
छैटौं पटक टेण्डर खोल्दा पनि ठेकेदार नपाएपछि नगरपालिकाले आजदेखि आफै शुल्क उठाएर नदीजन्य पदार्थ खुला गर्ने निर्णय गरेको थियो । तर, गत बर्षको भन्दा शुल्क बढी भएको भन्दै स्याउले, खुटीया, बल्मी ट्याक्टर व्यवसायी संघले विरोध जनाएको छ । ट्याक्टर व्यवसायी संघका अध्यक्ष करन बोगटीले गत बर्षको भन्दा ४५ रुपैयाँ प्रतिघनमिटर रोयल्टी बढाएपछि विरोधमा उत्रिएको बताए ।
उनले गत बर्ष नगरपालिकाले ७५ रुपैयाँ प्रति घनमिटर रोयल्टी लिने गरेकोमा यो बर्ष १२० पुगाइएको बताए । गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले भने प्रदेशबाट नै भ्याट बाहेक १०६ रुपैयाँ तोकिएर आएकाले सोही अनुसार भ्याट सहित १२० रुपैया प्रति घनमिटर शुल्क कायम गरिएको बताए ।
त्यस्तै नदीजन्य पदार्थको शुल्क बढाएको भन्दै ट्याक्टर व्यवसायीले सोही बिरोधमा करिब १ घण्टा पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।
सम्बन्धित समाचार
गोदावरी नगरपालिकाले नदिजन्य पदार्थ आफैं उठाउने
