एजेन्सी : पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा हालसम्म ३ करोड ३० लाख नागरिक प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौँ नागरिक घरविहीन भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा र पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगित र बाल्टिस्तान क्षेत्र बाढीको चपेटामा परेका छन् ।
बितेको २४ घन्टा यतामात्र पाँचजनाले बाढीबाट ज्यान गुमाएका छन् । साथै बाढीमा परेर अरू कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार ४८६ को बाढीबाट ज्यान गएको बताइएको छ ।
त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका बुधबार प्रकाशन गरेको एक तथ्यांक सार्वजनिक गरेको छ ।
पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा २४ घन्टा यतामात्र वर्षा र बाढीबाट तीनजनाको मृत्यु, भएको छ । त्यसैगरी खैबर पख्तुन्ख्वा प्रान्तमा यस प्रकोपको कारण दुई व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।