बझाङ जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो

बझाङ : बझाङमा बुधबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । गम्भीर घाइते ५० वर्षिया सिन्किदेवी भण्डारीको उपचारका लागि धनगढी ल्याउदै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतक संख्या ८ पुगेको हो । १५ जना घाइते रहेका छन् ।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका-२ खेतकोट जाँदै गरेको सुपप्र ०१ ००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिप दुर्घटना हुँदा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ४ जनालाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये मष्टा गाउँपालिका-१ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको बताइएको छ । ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रेफर गरिएको छ। दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मष्टा गाँउपालिका-२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन्।

त्यस्तै घाइतेहरुमा मष्टा गाउँपालिका-२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनि धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय बिरबहादुर खड्का, मष्टा गाँउपालिका १ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीया ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीया सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए ।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ। जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो।

त्यस्तै बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई  लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

यो पनि पढनुहोस् ।

बझाङमा जीप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.