अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा दुईदिन देखी हात्तीले आतंक मच्चाई रहेको छ । बिहीबार राति आएको हात्तीको एक बथानले गोदावरी क्षेत्रमा आंतक मच्चाएको हो ।
बिहीबार राती गोदावरीको वनबेहडा, बल्मी र लालपुरमा देखिएको हात्तीको बथान शुक्रबार राति बास्कोटामा आएको स्थानियले बताएका छन् । गोदवरी ४ बास्कोटाको उत्तर तर्फ रहेको जंगलबाट शुक्रबार राती आएका झन्डै ९–१० ओटा हात्तिको समुहले केही ठाउँमा अन्नबाली नष्ट गरेको स्थानिय प्रकाश मल्लले बताए ।
राती गाउँमा हात्ती आएपछि प्रहरीलाई खबर गरी राती नै स्थानीय र प्रहरीले हात्तीलाई धपाएको स्थानिय मल्लले बताए । निकै लामो समयपछि हात्ती उक्त ठाउँमा देखिएको स्थानीयले बताएका छन् । राती देखिएको हात्ती तेघरीको जंगलतिर लागेको स्थानियको भनाई छ ।
बिहीबार राति २ बजेको समयमा बच्चा सहितका १४ वटा हात्तीको बथान स्थानीयले लालपुरको खेतमा देखेका थिए । उक्त बथानले स्थानीय रामकृष्ण रानाको २ कट्ठा जमिनमा लगाएको धानबाली र दिनेश चौधरीको १ कठ्ठा जमिनमा लगाएको आलु तथा अन्य तरकारी समेत नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार केही दिन यता उक्त क्षेत्रमा निरन्तर हात्तिको बथान देखिरहेकाले प्रहरीले सक्रियता बढाएको छ । हात्तीको बथानले स्थानियका धानबाली र केराखेती नष्ट गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रबिन्द्रराज पाण्डेले बताए । उनले हात्ती देखिना साथ प्रहरीलाई खबर गर्न पनि आग्रह गरे ।
रातीको समयमा गाउँमा हात्तीको बथान आउन थालेपछि स्थानिय त्रसित बनेका छन् ।
आहाराका लागि जंगलमा घुमिरहेका हुन् : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार बच्चासहितका २२ वटा हात्ती कैलाली–कञ्चनपुर क्षेत्रमा छन् । उनीहरु आहाराका लागि जंगलमा घुमिरहेका हुन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ४\५ वटा हात्तीको स्थायी बसोबास रहेको बताईएको छ । त्यहाँबाट हात्तीको ठूलो बथान आउने–जाने गरेको हुन्छ ।
राष्ट्रिय निकुञ्जले चुरेफेदीमा राखेको क्यामेरामा हात्तीको बथान देखिएको हो । कैलाली–कञ्चनपुरमा हात्तीको जंगल मासिएकाले हात्तीलाई चरनको समस्या हुने गरेको छ ।
यो पनि पढ्नुहोस् ।
कैलालीको गोदावरीमा हात्तीको बथानले धानबालीमा गर्याे क्षति