अत्तरिया : सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ । पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व शुक्रबार अर्थात् पौस औँसीदेखि सुरु भएको हो ।
दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ । यो पर्व युद्धकालीन अभ्यास बझाङ्गी संस्कृतिमा भुवा पर्वका रूपमा तामझामका साथ मनाइने गरिन्छ। हातमा तरबार र ढाल लिएर सामूहिक रुपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरिन्छ ।
भुवा विशेष गरी सुदूरपश्चिमको बझाङ, अछाम, डोटी र बाजुरा जिल्लामा मनाउने गरिन्छ। भुवा पर्वको अवसरमा घरघरमा गएर भुवा–भैलो खेलेर चामल दक्षिणा माग्ने, भुवा खेल्ने र आशिर्वाद दिने प्रचलन रहेको छ । ऐतिहासिक किम्बदन्ती बोकेको भुवा पर्वको सांस्कृतिक महत्व पनि रहेको छ । महाभारतको युद्धमा पाण्डव र कौरव बिचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् ।
पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । आफन्तसँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ। सुदूरपश्चिमका बझाङ, अछाम, डोटी लगायत बाजुरा जिल्लाको विभिन्न गाउँहरूमा स्थानीयले यो पर्व विशेष रुपमा मनाउने गर्दछन् । भुवा पर्वमा पाण्डव र कौरवको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने, लाखे नाच नाच्ने, भारीखेल लगाउने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ ।
आज सुदुपश्चिमका जिल्लाहरुमा आगोका राँकाहरू बालेर स्थानीयले एकै ठाउँमा जम्मा भई भुवा जगाएका छन् । सत्यको जितसँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले तथा पाण्डवले कौरवसँगको लडाइँमा विजय हासिल गरेको अवसरमा भुवा पर्व मनाउने गरिएको भुवा पर्वका जानकार जयपृथ्वी नगरपालिका १ कैलासका पुन्या सिंहले बताए ।
भुवा पर्वको सन्दर्भमा आज बझाङ, अछाम, बाजुरा र डोटी जिल्लामा सार्वजनिक बिदा दिइएको छ । भुवा पुस पूर्णिमाको दिनदेखि सुरु भएर लगातार १५ दिनसम्म खेल्ने चलन रहेको जयपृथ्वी नगरपालिका २ का गणेश खड्का बताए । उनका अनुसार पुरानो संस्कृति अनुसार विभिन्न गाउँटोलमा भुवो नाच देखाउने गरिन्छ। यो समय खेतीपातीको कामबाट फुर्सद हुने समय भएकाले स्थानीय बासिन्दा पर्वमा बढी सहभागी हुने गरेको खड्काले बताए। भुवो नाचका क्रममा नांगो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ ।
सबै जातजाति तथा गाउँ समाजको एकता, भाइचारा एवं आपसी सद्भाव झल्काउने पर्वका रूपमा यसलाई लिइने गरेको जयपृथ्वी नगरपालिका १० का भुवो पर्वका जानकार विष्णुभक्त जोशी शास्त्रीले बताए। शास्त्रीले भने, ‘सुदूरपश्चिमबाट लोप हुने अवस्थामा रहेको यो नाच जोगाउन यहाँको युवा पुस्ता एकजुट भएर लाग्न आवश्यक छ ।’
अघिल्लो पुस्ताका बूढापाकाले लोकलयमा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश र माया साटासाट गर्छन्। भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो। भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछन्। भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात ५ हजार वर्ष अगाडि भएको मान्यता छ ।
महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जनविश्वास गरिने थलारा गाउँपालिका २ बगडाका संरक्षक बहादुर सायरले बताए ।
त्यस्तै शुक्रबार बिहान ८ बजे धनगढी खुलामञ्चमा मुढा बालेर औपचारिक रुपमा भुवा पर्वको सुरुवात गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए । आज मध्यान्न १२ बजे धनगढी खुलामञ्चमा पर्ब शुरु भएको छ ।
