भ्वाइस अफ नेपालको चौथो सिजन आजदेखि

काठमाडौं : टेलिभिजन गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन-४ को ग्राण्ड प्रिमियर गरिएको छ । टीभीमा प्रसारण हुने पूर्वसन्ध्यामा वान सिनेमाज् हलमा ग्राण्ड प्रिमियर भएको हो । यो रियालिटी शो आज (शुक्रबार) राति ८ बजेदेखि हिमालय टीभीबाट प्रसारण हुँदैछ ।

प्रिमियरमा विज्ञापनदाता, सञ्चारकर्मी र भ्वाइसका कोचहरु उपस्थित रहे । प्रिमियरमा कोचहरु राजेशपायल राई, प्रमोद खरेल र प्रविशा अधिकारी उपस्थित रहे । जापान जाने तालिका भएकाले राजु लामा उपस्थित नभएको निर्देशक लक्ष्मण पौडेलले जनाए । द भ्वाइसको चौथो सिजनको पहिलो भाग हेरिसकेपछि उपस्थित अतिथिले पहिलेका सिजनभन्दा यसपटक अझ मज्जा आएको प्रतिक्रिया दिए ।

राजेशपायल र प्रविशा नयाँ कोचको रुपमा रियालिटी शोमा भित्रिएका छन् । प्रिमियरमा मिडियासँग कुरा गर्दै कोच राईले आफूलाई रमाइलो लागेको र टिमको कामको प्रशंसा गर्न मन लागेको बताए ।

नेपालको दूरदराजमा रहेका नयाँ मौलिक प्रतिभालाई छान्ने आफ्नो उद्देश्य रहेको उनले सुनाए । भन्छन्, ‘मलाई मेरो मनले जुन प्रतियोगी छान्न भन्छ त्यो छान्छु, न कि कसैले भनेको भरमा । विशेषगरी मौलिक स्वरलाई आफ्नो टिममा राख्न चाहन्छु ।’ कोच प्रविशाले पनि अहिलेको सिजनमा आएका प्रतियोगी निकै प्रतिभावान रहेको बताइन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.